Sur Cinema

‘मैझारो’मा दिया

काठमाडौं : अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने सिनेमा ‘मैझारो’मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो ।

यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर सिनेमामा अनुबन्धित भइसकेका थिए । अब दिया पनि सिनेमाका मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ । निर्देशक राईले भने,‘कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन्।’

‘मैझारो’मा धिरज, मिरुना र दिया बाहेक अन्य कलाकारको नाम भने सार्वजनिक भइनसकेको निर्माण पक्षले जनाएको छ । केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमालाई निर्देशक तक्मे बुढाले नै लेखेका हुन् । उनको यो डेब्यु लेखन तथा निर्देशन हो । यस सिनेमामा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने गायनमा राजेश पायल राई लगायतको रहने छ।

साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने सिनेमामा सौरभ लामाको छायांकन हुनेछ भने यो सिनेमालाई ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुनेछ । तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै आएको थियो ।