काठमाडौं : साउनको २३ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मोहर’को प्रचारका लागि यतिबेला नायक पल शाह र नायिका बेनिशा हमाल मोफसलका दर्शक भेट्न पुगेका छन् ।यतिबेला पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग सिनेमाको विषयमा साक्षात्कार गरेका छन् ।
सिनेमाका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, सिनेमाका मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा नायक पल शाह र नायिका बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुगेका हुन् । दर्शकसँग साक्षात्कार गर्ने क्रममा नायक पलले ‘मोहर’ सबै परिवारले हेर्ने कथा भएको बताए ।
पलले भने–‘एउटा कलाकारले कमाउने भनेकै दर्शकको माया हो । यो माया सजिलै कमाउन सकिदैन ।’सिनेमाको टिमले कलेज, स्कुलसँगै रोट्राक्टमा आवद्ध विभिन्न व्यक्तिहरुसँग पनि साक्षात्कार गरेको थियो ।पल र बेनिशालाई भेट्न पाउँदा दर्शक उत्साहित देखिए । उनीहरुले, ‘मोहर’को प्रतिक्षा व्यग्र रुपमा गरिरहेको समेत बताएका थिए ।
सिनेमामा पल र बेनिशाको साथमा नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाको टिजर र दुई गीतलाई दर्शकले मन पराइसकेका छन् । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको सिनेमाको केही दिनमै ट्रेलर सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।















