काठमाडौं : सरोज पौडेलको निर्देशनमा निर्माणाधीन सिनेमा ‘कोशेढुंगा’को छायांकन सकिएको छ । मकवानपुरको चित्लाङ, मार्खुलगायत क्षेत्रमा गीतको छायांकन गर्दै सिनेमाको ५१ दिनमा सुटिङ सकिएको हो । त्यसअघि ललितपुरको च्यासलस्थित सेट लगाए छायांकन सुरु गरिएको कोशेढुंगा’ गण्डकी प्रदेशको स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायाकंन गरिएको थियो ।
भदौ १२ गते रिलिज हुने सिनेमालाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो सिनेमा डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।
पहिलो पटक यति धेरै देशमा एकसाथ सिनेमा प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ । निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको सिनेमाको निर्माणपक्षले छायाकंनकै क्रममा फर्स्ट लुक्स पोस्टरका रुपमा सिनेमाकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड रहेको तस्विर बाहिर ल्याएको थियो ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको सिनेमामा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
सिनेमाको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो सिनेमामा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।















