काठमाडौं : तक्मे प्रोडक्सनको ब्यानरमा सिनेमा ‘मैझारो’ निर्माण हुने भएको छ । सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै सिनेमा निर्माणको घोषणा गरेको हो। सिनेमाको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम राईले गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।
बाल्यकालमा नै अभिनेता राजेश हमालको सिनेमा ‘साथी’मा अभिनय गरेका थिए। त्यस यता दर्जनौ सिनेमामा अभिनय गरेर दर्शकको मन जितिसकेका उनले ‘मैझारो’मार्फत निर्देशनमा पनि हात हालेका हुन् ।
यस सिनेमामा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ।
सिनेमालाई सौरभ लामाले खिच्ने छ भने सिनेमा साउनको पहिलो हप्ताबाट छायांकन हुने छ । निर्देशक राईले यो सिनेमाको छायांकन ईलाम र पाँचथरका रमणीय स्थानहरूमा गर्ने बताए । उनका अनुसार यो सिनेमा सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुनेछ।
तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन्। यही पृष्ठभूमिमा निर्माण हुन लागेको ‘मैझारो’प्रति दर्शक र सिनेकर्मीहरूमा उत्साह देखिएको छ। उनी लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए। अभिनयका साथै उनी गायक र संगीतकार पनि हुन्।















