काठमाडौं : सिनेमा ‘गोर्खा वारियर’का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य भनेको सगरमाथाको सफल आरोहण रहेको छ।
राई बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर नेपाली सिनेमा क्षेत्रमा एउटा किर्तिमान राख्न सफल सिनेमा ‘गोर्खा वारियर’ का निर्माता हुन् ।
‘शून्यदेखि सगरमाथा सम्म’ भन्ने नाराका साथ सुरु गरिएको अभियान अन्तर्गत अबको चरण सगरमाथा आरोहण र वातावरणीय सचेतना फैलाउने अभियानमा केन्द्रित हुनेछ। सुमन राईको यो प्रयास ‘Fundrise Social Campaign’ मार्फत ग्लोबल वार्मिङबिरुद्ध जनचेतना जगाउन, वातावरण जोगाउन र भविष्यका पुस्ताका लागि सुरक्षित पृथ्वीको सन्देश दिन केन्द्रित छ।
यो अभियानमा अनुग्रह टिमका शुभेच्छुकहरूसँगै NCCA UK, NCC UK, तमु धिं UK, किरात राई यायोख्खा, खोटाङ समाज र थुलुङ राई समाज लगायत विभिन्न प्रवासी नेपाली संघसंस्थाहरूको साथ, समर्थन र उत्साहजनक सहभागिता रहेको छ।















