Sur Cinema

सरोज र सुयोग मिलेर ‘घोस्टेल’ गर्दै

काठमाडौं : अनन्या फिल्मस्’को ब्यानरमा सिनेमा ‘घोस्टेल’को निर्माण घोषणा भएको छ । बुधबार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणबारे जानकारी गराएको हो ।

सार्वजनिक पोस्टरमा ‘when horror meets hahas..’ (जब त्रासले हाँसो भेट्छ) लेखिएको छ, जसले यो सिनेमा हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ । सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो सिनेमाको ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि बताएको छैन ।

प्रमुख अभिनयमा रहने कलाकारहरू सार्वजनिक सँगै सिनेमाको थप विवरण पनि खुलाउँदै जाने निर्माता सरोज न्यौपानेले बताए । न्यौपानेसँग सिनेमा निर्माणमा सुयोग गुरुङले सहकार्य गरेका छन् । सिनेमा कथा सुयोग गुरुङको नै हो । ‘जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त सिनेमाको छायांकन सकाएसँगै एकसाथ नयाँ सिनेमा निर्माणमा जुटेका हुन् ।

यो सिनेमालाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । ‘षडङ्ग’ फेम्ड निर्देशक सुनुवारको पछिल्लो सिनेमा ‘खजुरे ब्रो’ गत वर्ष प्रदर्शनमा आएको थियो । ‘घोस्टेल’ सुनुवारको तेस्रो निर्देशकीय सिनेमा हुनेछ । ‘जेरी अन टप’ आगामी तिहारमा प्रदर्शनमा आउँदैछ, यो सिनेमाको प्रदर्शनपछि ‘घोस्टेल’को छायांकन प्रारम्भ हुने निर्माण पक्षले जनाएको छ ।