काठमाडौं : जापानमा सक्रिय रुपमा काम गरिरहेकी मोडल तथा नायिका रजेल इचिमिया निर्देशक कृषा चौलागाईं निर्देशित सिनेमा ‘जहाजैमा’मा काम गर्ने पक्का भएको छ । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको विषयमा केही पनि उल्लेख गरेकी थिइनन् ।

निर्माणपक्षले सिनेमाकी मुख्य नायिकाको नाम सहितको पोस्टर शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको देखिन्छ । सार्वजनिक पोष्टर हेर्दा यो सिनेमा एउटा सिनेमा मात्र नभएर नेपाल र जापानविचको भावनात्मक पुलको रुपमा अगाडि आउने विश्वास गर्न सकिन्छ । उनलाई नेपाली सिनेमामा भित्राउनु आफैमा नयाँपन हो । यसले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
निर्देशक चौलागाईंले यसपटक सिनेमामा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताएकी छिन् । यो सिनेमालाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । सिनेमाले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।
सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ भने निर्देशक चौलागाईंले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन् ।















