काठमाडौं : निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर सिनेमा ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । निर्देशक थापाले चलचित्र विकास बोर्डमा सिनेमाको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ ।
दश वर्षअघि ‘प्रेमगीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो। निर्देशक थापाले यो सिनेमाका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट सिनेमाको नाम भने सार्वजनिक गरिएको थिएन।
निर्देशक थापाले दश वर्षअघि सिनेमा ‘प्रेम गीत’मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झिएका छन् । उनले त्यो समयमा प्रेम गीतले धेरै कलाकार तथा प्राविधिकहरु लाई करियरको उचाईमा पुर्याएको स्मरण गरे, त्यसमध्ये एक हुन् अहिलेका स्टार नायक प्रदीप खड्का ।
हुन पनि ‘प्रेमगित’ लाई एउटा उदाहरणिय प्रेमिल सिनेमा मान्न सकिन्छ। यो सिनेमा सबै वर्गका दर्शकहरुको मन जित्न सफल भएको थियो। अब निर्देशक थापा र अभिनेता खड्का लाई प्रेमगित भन्दा सफल सिनेमा बनाएर फेरि एकचोटी दर्शकहरुको मन जित्नु पर्ने चुनौति भने पक्कै छ । त्यसो त प्रेम कथामा आधारित सिनेमा बनाउन निर्देशक थापा सफल पनि छन् भने लवर व्वाई भुमिकामा अभिनेता खड्का पनि रुचाईएका छन्।
अहिले बन्न लागेको सिनेमा ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो। यो सिनेमाले समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्व लाई सिनेमामा दर्शाउने छ, निर्देशक थापा भन्छन।
यो सिनेमाका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन। चाडै नै अभिनेत्री लगाएत सम्पूर्ण कलाकार तथा प्राविधिक फाईनल गरि छायांकनमा जाने तयारि गरिएको जानकारी प्राप्त भएको छ।
निर्देशक थापाको प्रेमकथामा आधारित सफल निर्देशकिय सिनेमाहरु ‘मेरो एउटा साथी छ’, ‘प्रेमगित’ ‘म यस्तो गित गाउछु’ आदि हुन्।















