Sur Cinema

सेलिब्रेटीहरुले गरे ‘महाभोज’को खुलेर प्रसंशा

काठमाडौं : शुक्रवार रिलिज भएको सिनेमा ‘महाभोज’ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सिनेमा हेरेर हलबाट बाहिरिने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले सिनेमाको व्यापारमा बढोत्तरी हुने अपेक्षा लिइएको छ ।

सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले ‘महाभोज’ लाई ‘हेर्नै पर्ने’ सिनेमाको संज्ञा दिएका छन् । शो सकिने बित्तिकै दर्शकहरूले ताली बजाएर आफ्नो प्रशंसा व्यक्त गरिरहेका छन् ।

समीक्षकहरूले यसको पटकथा, निर्देशन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् । यसै क्रममा, सोमबार साँझ काठमाडौंमा सिनेमा, साहित्य र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले ‘महाभोज’ हेरेका छन् । कलाकार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाज शास्त्री निर्मला ढकाल लगायतको उपस्थिति थियो । सिनेमा हेरेपछि उनीहरूले ‘महाभोज’ ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको उच्च प्रशंसा गरे ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले सिनेमाले जनताको पैसाको दुरुपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए । “जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर सिनेमामा राम्रोसँग देखाइएको छ,” उनले भने ।

वरिष्ठ कलाकार सरोज खनालले सिनेमाको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, “गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै ‘महाभोज’ ले दिएको सबैभन्दा ठुलो सन्देश हो । हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो सिनेमाले झकझक्याउँछ ।” 

कलाकार जितु नेपालले सिनेमाको विषयवस्तुको मार्मिकता र यथार्थपरकताको प्रशंसा गरे । “चलचित्रले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मिक छ । यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ । र, यो सिनेमा अत्यन्त रमाइलो पनि छ,” उनले भने ।

कलाकार परीक्षा लिम्बुले सिनेमाले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन् । “मलाई एकदमै यथार्थ महसुस भयो । एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो सिनेमाले देखाएको छ,” उनले प्रतिक्रिया दिइन् ।

निर्देशक नवीन चौहानले ‘महाभोज’का निर्देशक दिनेश राउतको कार्यको उच्च मूल्याङ्कन गरे । उनले भने, “महाभोजलाई मैले निर्देशक दिनेश राउतको आजसम्मकै उत्कृष्ट सिनेमाको रूपमा पाएँ ।” 

दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।