Sur Cinema

सिनेमा ‘परिवर्तन’ निर्माण घोषणा : पहिलो पटक सुशील र अन्जना एकसाथ देखिदै

काठमाडौँ : विजय केरुङको निर्देशनमा सिनेमा ‘परिवर्तन’ निर्माण हुने भएको छ । नेपाली सिने क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक केरुङले ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ सिनेमा निर्देशन गरिसकेका छन् ।

केरुङको निर्माणाधीन सिनेमा ‘परिवर्तन’मा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिने बताएका छन् , जसले कानुन प्रतिको कर्तव्य र प्रेम प्रतिको दायित्वबिचको संघर्ष भोग्दै जान्छ । यो सिनेमाले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको काला सञ्जाल, र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउने उनको भनाई छ ।

सिनेमामा पछिल्लो समयका चल्तिका कलाकारहरू अञ्जना बराइली र सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिने छन् । सिनेमामा अन्जना र सुशीलको अलावा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।

दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने यस सिनेमाका निर्माता दीपक सिवाकोटी हुन् । सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । छायाङ्कन निर्देशन शिव ढकाल, सम्पादन भूपेन्द्र अधिकारी, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राई तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् ।

निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन्भ ने प्रोडक्सन हेड अरुण रेग्मी हुन् । सिनेमाको छायाङ्कन आगामी हप्ताबाट सुरु हुने बताइएको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ ।

‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि.सं. २०२८ सालमा सिनेमा निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।