Sur Cinema

‘जन्ते बाख्रो’को प्रचार प्रसारमा जुटे निर्माण टिम

काठमाडौं : आगामी जेठ २३ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘जन्ते बाख्रो’को निर्माण पक्षले प्रचार अभियानलाई तीव्रता दिएको छ । सिनेमाको प्रचार नेपालको पूर्वी क्षेत्रबाट सुरू भएको हो । पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरुमा प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरेको निर्माता गौतमले जानकारी दिए ।

सिनेमाको प्रचारका क्रममा सार्वजनिक गरिएका तीन गीत ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । सिनेमाकका गीत संगीत डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत हेर्न सकिनेछ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमाका निर्देशक सुनुवारका अनुसार यसको कथा विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ ।

सिनेमा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले खरिद गरेको छ । निर्माण पक्षका अनुसार सिनेमा जेठ २३ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।