काठमाडौं : यही जेठ १५ गते रिलिज तयारीमा रहेको सिनेमा ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित कार्यक्रम समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा उठाएको छ । सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ झल्किन्छ ।

आफूले दैनिक जम्मा गरेको रकमको कारण मृत्युमा समेत परिणत भएको विपन्न सदस्यहरूको दृश्यले सामाजिक असमानताको गम्भीर रूप प्रकट गर्दछ । सहकारी संस्थामा पहुँच राख्नेहरूले आफ्नो पद र पदवीको फाइदा उठाउँदै कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथानकलाई ट्रेलरले साहसिक रूपमा उजागर गरेको छ ।
ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले सिनेमाले वास्तविक सत्यको खोजी गर्न प्रतिबद्ध देखिएको छ । यश सिनेमाका निर्माता हिमाल कडरियाले भने, “सिनेमामा पैसा मात्र प्रलोभन होइन, हाम्रो समाज आफैँले उत्पादन गरेको कथा हुनु आवश्यक थियो । त्यसैबाट ‘महाभोज’ जन्मियो ।”
विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस सिनेमालाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् ।सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।















