Sur Cinema

‘महाभोज’को नयाँ पोस्टर : द्वन्द्व, द्वैधता र संघर्षको सङ्केत

काठमाडौं : ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको सिनेमा ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा ‘महाभोज’का प्रमुख तीन जना पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन् ।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक सङ्घर्षको चित्रण गर्छ । दयाहाङले दौरा-सुरुवाल, ढाका टोपी, र माला लगाएका छन् । उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ । पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिन्छन् । यस्तै, आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिन्छन् । यी तीनै पात्रको अनुहारको भावनाले सिनेमामा हुने द्वन्द्व, द्वैधता र संघर्षको सङ्केत दिन्छ ।

यो सिनेमाका निर्देशक दिनेश राउत हुन् । उनको यो आठौँ सिनेमा हो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस सिनेमाका निर्माता हिमाल कडरिया हुन् । सिनेमाको कथा तथा पटकथा सुवेदीले लेखेका छन् ।

यसमा आर्यन, दया र खगेन्द्रको अलावा अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय हेर्न पाइनेछ ।