काठमाडौं : हाल प्रदर्शन भइरहेको सिनेमा ‘ऊनको स्वीटर’ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता आर्जन गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस सिनेमाले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हलहरूमा हाउसफुल शोहरू दिन थालेको थियो । सात दिनको अवधिमा देशभरका सिनेमा घरहरूमा दैनिक ३०० भन्दा बढी शोहरू सहित प्रदर्शनमा रहेको यो सिनेमा आजबाट दोस्रो हप्ता प्रवेश गरेको छ ।
दोस्रो हप्तामा अन्य नयाँ सिनेमाहरूको रिलिजको बाबजुद पनि करिब २ सय शो सहित ‘ऊनको स्वीटर’ले प्रदर्शन आरम्भ गरेको छ । दोस्रो हप्ताको पहिलो दिन पनि दर्शकको चासो उत्तिकै कायम रहेको देखिएको छ । दर्शकहरूको स्वतन्त्र समीक्षाबाट सिनेमाले थप चर्चा कमाइरहेको छ ।
सिनेमामा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनले सिनेमालाई ‘हिट’ बनाएको दर्शकको प्रतिक्रिया छ ।















