काठमाडौं – सिनेमा ‘ऊनको स्वीटर’ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न सफल मात्र होइन, व्यापारिक सफलता पनि राम्रो गरेको छ । आज शुक्रबारबाट सिनेमा सफलताका साथ दोस्रो सातामा प्रवेश गरेको छ ।
दोस्रो सातामा सिनेमाको टिम देशव्यापी भ्रमण सुरु हुने भएको छ । निर्देशक नवीन चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ, र निर्देशक स्वयं सहभागी हुनेछन् ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको सिनेमामा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय रहेको छ ।















