काठमाडौं : फूलपाती बाट प्रदर्शनमा आउने तयारीमा रहेको सन्तोष सेन निर्देसित सिनेमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । यो भिडियो सामग्री सिनेमाका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।
प्रि-टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ – “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।” भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।
सिनेमामा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ ।‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको यस सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।















