Sur Cinema

‘ऊनको स्वीटर’ ट्रेलर : यथार्थवादी र सामाजिक कथाबस्तु प्रस्तुत

काठमाडौं : सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमा वैशाख २६ गतेबाट विश्वव्यापी रिलिजको तयारीमा रहेको छ ।

ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गरेको छ, जहाँ पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक सिनेमा हो ।

सिनेमाका निर्देशक नवीन चौहानले सिनेमाको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए । उनले सिनेमा बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए ।

सिनेमामा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो सिनेमाले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।