काठमाडौं : नेपाली समाजका गम्भीर समस्याहरूलाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले ‘झोला’ र ‘भोर’ सिनेमा निर्माण गरेका थिए । भट्टराईको तेस्रो प्रयास सिनेमा ‘झिल्को’ हो, जसले आजको डिजिटल कुलतमाथि प्रश्न गरेको छ । “डिजिटल प्रवृत्तिले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको छ । मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दै भर्चुअल दुनियाँमा हराइरहेका छन्,” भट्टराई भन्छन्, “झिल्कोले डिजिटल कुलतले एउटा सामान्य परिवार र बालबालिकामाथि कस्तो असर पार्छ भन्ने कथा प्रस्तुत गरेको छ ।”
उनले थपे, “आज हामी डिजिटल कुलतलाई सामान्य ठानिरहेका छौँ, तर यो आगोको झिल्को जस्तै बिस्तारै हाम्रो आत्मा डढाइरहेको छ । ‘झिल्को’ यही खतरा देखाउने सिनेमा हो ।” निर्देशक भट्टराईले दर्शकलाई ‘झिल्को’ सिनेमा मार्फत आफ्नो गल्तीहरू पहिचान गरेर विवेकपूर्ण जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । “सिनेमा समाजको दर्पण र मार्ग निर्देशक हो,” भट्टराई भन्छन्, “त्यसैले हामीले यी संवेदनशील कथाहरू उठान गर्नु आवश्यक ठानेका हौँ। ‘झिल्को’ तपाईँ र तपाईँको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ ।”
‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ, जसमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको सिनेमाको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । सिनेमाको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । सिनेमा जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।















