Sur Cinema

उच्च अकुपेन्सीका साथ हलमा ‘पिताम्बर’को वर्चस्व

काठमाडौं –  शुक्रबारबाट प्रदर्शनमा रहेको सिनेमा ‘पिताम्बर’ले हलमा वर्चस्व जमाएको छ । ओपनिङ बाट नै उतसहजनिक व्यापार गरिरहेको सिनेमाले प्रदर्शनको चौथो दिन अर्थात् सोमबार उच्च सो सहित सफल यात्रा तय गरिरहेको छ । नयाँ वर्ष २०८२ का दिन देशभर १ सय ८५ बढी सो सङ्ख्यासहित चलिरहेको सिनेमाले ८० प्रतिशत माथिको अकुपेन्सीसहित दर्शकको माया पाइरहेको छ । 

सिनेमालाई दर्शक प्रतिक्रिया सकारात्मक भएकाले सोमबारका लागि हलहरूले सो सङ्ख्या बढाएका छन् । दह्रिलो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाईं निर्देशित सिनेमाले नयाँ वर्ष २०८२ को सुरुवाती सिने बजारलाई सक्रिय बनाएको छ।

 सिनेमाले तारिफ पाइरहँदा कलाकारहरू पनि उत्साहित देखिएका छन् । सिनेमा हलमा सिनेमाका दर्शक भीड लाई सम्बोधन गर्दै सौगातले भनेका छन् ‘यो दर्शकहरूको माया हो । दर्शकहरूको माया पाउँदा निकै नै उत्साहित छौँ ।’ उनी मात्र होइन, अभिनेता प्रदीप खड्का, अनुप विक्रम शाही, अभिनेत्री दिव्या रायमाझी, निर्देशक कृषा चौलागाईं स्वयम् पनि दर्शकको मायाले खुसी देखिएका छन् । एक्सन जनरामा आफूलाई प्रमाणित गरेसँगै  निर्देशक चाैलागाईंकाे सिनेमा बजारमा चर्चा बढेकाे छ भने एक्सन जनरामा सौगात मल्लको तारिफ पनि उतिकै बढ्दो देखिएको छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा प्रदीप, सौगातसँगै, अनुपविक्रम शाही,  दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।