काठमाडौं : सिनेमा ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा आज बिहान सिनेमाको शुभमुहूर्त गरिएको हो । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए ।
सोमबारबाट सिनेमाको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । सिनेमालाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । सिनेमामा अन्य कलाकारहरु विजय बराल, केकी अधिकारी, रियर राई लगायत कलाकारको अभिनय रहनेछ ।
निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट सिनेमाको छायांकन सुरु हुनेछ सिनेमाको पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ । सिनेमाले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । सिनेमाले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
निर्देशक न्यौपानेको यो डेव्यु निर्देशनकिय सिनेमा हो । यो सिनेमाको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइनअप रहेको सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने सिनेमाका विमल न्यौपाने निर्माता हुन् ।
सिनेमाका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् । थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यनेजर रहेका छन् ।
सिनेमाको छायांकन सेड्युल ४० दिनको रहेको छ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन् ।















