काठमाडौं : सिनेमा ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रुपमा देखाइएको छ । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । आगाी जेठ ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।
सिनेमाका निर्देशक सिमोस सुनुवारले पनि आफ्ना अघिल्ला सिनेमाको गल्ती कमजोरी ‘जन्ते बाख्रो’मा सुधार गर्दै दर्शकमाझ एउटा राम्रो सिनेमा पस्किने तयारी गरेको बताए । यो सिनेमाका लागि कलाकारदेखि कथा लेखनसम्म आफ्नो टिमले निकै मेहनत गरेकाले दर्शकलाई ‘जन्ते बाख्रो’ मन पर्नेमा विश्वस्त देखिए ।

यता सिनेमाकी मुख्य अभिनेत्री गरिमा शर्माले आफु पहिलो पटक सिनेमा मुख्य भूमिकामा देखिएकाले स्टेज चढ्दा डर लागेको बताइन् । सिनेमामा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।
सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।















