Sur Cinema

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव कहिले र कहाँ हुँदै छ ?

काठमाडौं : नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ ।  सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली सिनेमालाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका सिनेमा समावेश गरिनेछ ।

महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका सिनेमाहरुलाई समाबेश गरिनेछ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा सिनेमा, डकुमेन्ट्री, फिचर सिनेमा र भाषाभाषीका सिनेमा सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका सिनेमाहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट सिनेमालाई अवार्ड प्रदान गरिनेछ ।

विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका सिनेमाहरू समेटिएको छ । महोत्सवमा सिनेमा स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता सिनेमा बनाउने र कस्ता सिनेमाले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिनेछ।

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो । दर्शकलाई नेपाली मौलिक सिनेमाप्रति आकर्षित गराउनु र नियमित सिनेमा हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका सिनेमाहरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ ।

गोसाईकुण्ड गाउँ पालिका रसुवाले वार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि बैशाख २ गते देखि ६ गते सम्म हुनेछ । रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले विशेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ ।