Sur Cinema

प्रदर्शनरत सिनेमा ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक

काठमाडौं : सफलताका साथ तेस्रो दिनमा प्रदर्शनरत सिनेमा ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । सिनेमाको सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा सिनेमामा समावेश गरिएको यो गीत सार्वजनिक गरिएको हो ।

किरण माइकलको सङ्गीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल, र किरण माइकलको स्वर रहेको छ भने वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको छ ।गीतमा नृत्याङ्गना आश्मा विश्वकर्माको पावरफुल नृत्य रहेको छ भने भिडियोमा ‘होस्टेल ३’का कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायत पार्टी मुडमा देखिएका छन् भने कलाकार पारस बम ‘कुलब्वाय’ भने फरक मुडमा छन् । गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

शुक्रवार रिलिज भएको नेपाली सिनेमा ‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । सिनेमाले अपेक्षाभन्दा व्यापक रूपमा सफलता प्राप्त गरेको वितरकहरुले बताएका छन् । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।

यसैबीच, यस सिनेमाका कलाकारहरू शनिवार बिहानैदेखि काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन् भने कलाकार आफ्नो अगाडि पाउँदा खुसीले व्यापक हुटिङ गरिरहेका छन् । दर्शकले ‘होस्टेल ३’ अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।

सशान कँडेलले निर्देशन गरेको यस सिनेमाको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् । सिनेमामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन् । सिनेमाका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् । अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस सिनेमाको सम्पादन विकास दाहालले गरेका छन् ।