Sur Cinema

‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं : शुक्रवार रिलिज हुने नेपाली सिनेमा ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन् । बुधवार साँझसम्म देशभर करिब १२० शो सङ्ख्याको अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन् । हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस सिनेमाको व्यापक ओपनिङको प्रक्षेपण गरिएको छ ।

‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । यस कारणले नै तेस्रो भागलाई पनि दर्शकको राम्रो साथ मिल्ने अपेक्षा गरिएको छ । यो सिनेमा युवा पुस्तालाई लक्षित छ, जो नेपाली चलचित्रका मुख्य दर्शक वर्ग हुन्, उनीहरूबिच लोकप्रिय हुने सम्भावना छ ।  ‘होस्टेल ३’ को ट्रेलर र प्रचार-प्रसारले सकारात्मक हाइप बनाएकाले हल सञ्चालकहरूले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरेका छन् । यसले गर्दा उनीहरूले अग्रिम रूपमा नै धेरै शो दिएका छन् ।

सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको थियो । ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने हालसम्म यो क्रम २१ लाख माथि पुगिसकेको छ । हालसम्म पनि नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा रहेको ट्रेलर भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वका देशहरू सहित २० भन्दा धेरै देशमा ट्रेन्डिङमा आएको थियो । सिनेमाले भारतीय सिने उद्योगहरूको विशाल संसारमा समेत ट्रेन्डिङमा प्रवेश गरी इतिहास कायम गरेको थियो ।

सशान कँडेलले निर्देशक गरेको यस सिनेमाको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन् ।

सिनेमाको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । सिनेमाका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।

सिनेमाको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । सिनेमाका एक्सन निर्देशक हिमाल केसी हुन् । सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् । यसमा यम ओलीको प्रोडक्शन डिजाइन रहेको छ । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन् । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।