Sur Cinema

‘फेरि रेशम फिलिली’ सिनेमाले दिएको सन्देशले दर्शकको मन जित्दै

काठमाडौं : गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो । दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै सिनेमाका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकले पनि सिनेमाका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका थिए । सिनेमा हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मन जितेको प्रतिक्रिया दिएका छन् ।

यता सिनेमाका मुख्य अभिनेता विनय श्रेष्ठले सिनेमाले मज्जाले दर्शकलाई फिलिली बनाएको दर्शक पनि बढिरहेको बताए । सुरुवाती दुई दिन वार्मअप भएको भन्दै आज शुक्रबार अनि भोली शनिबार दर्शकको राम्रो साथ मिल्ने विश्वास उनको छ । विकेन्डमा सिनेमाले दर्शकको फिलिली हुने गरी साथ पाउने उनको दाबी छ ।

सिनेमाकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन् । आफ्नो अघिल्ला सिनेमाको तुलनामा यो सिनेमामा आफ्नो अभिनय धेरै सुुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ । समग्र सिनेमालाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेरहेको छ । विस्तारै दर्शकको साथ मिल्दै जानको उनको विश्वास छ ।

सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् । सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।