काठमाडौं : निरोज महर्जनको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘फेरि रेशम फिलिली’ सेन्सर पास भएको छ । महाशिवरात्रि अवसर पारेर पर्सी बुधबारबाट प्रदर्शनमा आउने सिनेमाले केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको हो । अब यो सिनेमालाई हरेक वर्गाका दर्शकले सजिलै सिनेमा हेर्न पाउनेछन् ।
आइतबार गरिएको सेन्सरमा सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाएको निर्माता रौनक विक्रम कडेलले बताए । पछिल्लो समय हरेक नेपालीमा रहेको अमेरिका मोहको कथालाई सिनेमाले सुक्ष्म ढंगले प्रस्तुत गरिएको सेन्सर पदाधिकारी भनाई रहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको यसअघि सार्वजनिक प्रचार सामाग्रीले ‘फेरि रेशम फिलिली’लाई यो वर्षको प्रतिक्षित सिनेमाको सुचीमा आफुलाई प्रस्तुत गरिसकेको छ ।
सिनेमाको ‘फेरि जालमा’ गीत र गत हप्ता सार्वजनिक सिनेमाको ‘आजबाट रेमशसँग मेरो लभ पर्यो’ संवाद निकै चर्चित छ । यो संवाद र फेरि जालमा गीतमा समाजिक संजाल फेसबुक रिल्स र टिकटकमा हजारौं भिडियो बनेका छन् । जसबाट पनि थाहा हुन्छ कि दर्शकमाझ सिनेमाको प्रतिक्षा कस्तो छ । जसले सिनेमाको सुरुवाती व्यापार आक्रामक हुने अपेक्षा निर्माण टिमको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।















