Sur Cinema

निशाको ‘माया प्रीति’मा दिव्या

काठमाडौं : हाल प्रदर्शनरत सिनेमा ‘एक्टर: टेक वन’ बाट नेपाली सिने क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली सिनेमा ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस सिनेमाका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् ।

रोमान्टिक कमेडी यो सिनेमालाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । श्रेष्ठले यस सिनेमामार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन्‌ ।

सिनेमामा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली सिनेमाको संस्कारमा हुर्किएकी भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् । ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ । तर, उनले आफ्नो भूमिकाबारे भने खुलासा गर्न चाहिनन् ।

दिव्याले आफ्नो पहिलो सिनेमा ‘एक्टर: टेक वन’मा नै उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए । उनले रायमाझीको लागि यस सिनेमाको चरित्र उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने भएकाले अनुबन्ध गरिएको बताए ।

वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस सिनेमामा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् । यो सिनेमाको निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । क्रिएटिभ निर्देशक प्रणव जोशी यसअघि २०७२ सालमा रिलिज भएको सुपरहिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एक कुशल एआई कलाकार पनि हुन् ।

यस सिनेमाको छायाङ्कन चाँडै सुरु हुने तयारीमा छ भने अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ । सिनेमाको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ ।