Sur Cinema

‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर

काठमाडौं : सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने सिनेमा ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको सिनेमाको निर्देशन शोभित बस्नेतले गर्दैछन् ।

आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरु छन् । पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन् ।

निर्देशक बस्नेतका अनुसार सिनेमाको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ । ‘सिनेमाका लागि हामीले चार सयजनाको अडिसन लिएका थियौं । तीमध्येबाट पाँच कलाकार सिनेमाका लागि छनोट गर्यौं’, निर्देशक बस्नेतले भने ।

सिनेमामा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको अभिनय छ । सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन् । मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद सिनेमामा छ ।