काठमाडौं : सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘रंगी’को शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो । ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ । सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ । ट्रेलरका केही दृश्य भावुक लाग्छन् । खासगरी ट्रेलरको अन्त्यमा आयुषीले स्टेजबाट आफ्नो बाबुप्रति दर्शाएको प्रेम र संवादले सबैको मन छुन्छ । ट्रेलरमा आयुषीलाई सिटी स्क्यान मेसिनमा राखेको दृश्यले उनलाई केही गम्भीर रोग लागेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
आगामी फागुन २ गते रिलिज हुने सिनेमाको पोस्टर, टिजर र गीतले दर्शकको मन जितिरहँदा सार्वजनिक ट्रेलरले सिनेमाप्रति चासो बढाउनेमा निर्माण पक्ष ढुक्क छ । ट्रेलर रिलिज पछि सिनेमाकी निर्मात्री करिश्मा केसी बस्नेतले सिनेमामा बाबुछोरीमार्फत मायाको परिभाषालाई फरक ढंगले प्रस्तुत गरेको बताइन् ।

सिनेमाका प्रस्तुतकर्ता सलोनले ‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न आग्रह गरे । निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ सिनेमामात्र नभई एउटा भावनासमेत रहेको दाबी गरे । अभिनेत्री नम्रताले सिनेमामा आफूले धेरै दबाब झेलेर काम गर्नु नपरेको जनाइन् । बाल कलाकार आयुषीले ट्रेलरलाई दर्शकले मनपराउनेमा आफू ढुक्क रहेको बताइन् । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
प्रस्तुतकर्ता सलोनका अनुसार सिनेमाले बाबुछोरीको कथा देखाउनेछ । सिनेमा ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।















