काठमाडौं : आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको सिनेमा ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा सिनेमाका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् ।
गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ ।
यसअघि यस सिनेमाको पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको थियो । सो गीत युट्युबमा नेपाल ट्रेन्डिङको १६ औँ स्थानमा रहेको छ भने नेपालीहरूको बसोबास रहेका अन्य केही देशहरूमा पनि ट्रेन्डिङमा रहेको छ ।
‘होस्टेल ३’ नेपालको चर्चित सिने शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । सिनेमामा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
सिनेमा सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।
अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । सिनेमाका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।
यो सिनेमा फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।















