काठमाडौं : विशिष्ठ कलाकार तथा गीतकार नीर शाह १६औं बिजुलीमाया वन : श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८१ सम्मान अर्पण गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौंडाले नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै उहाँलाई नगद एक लाख राशिको पुरस्कार अर्पण गरिएको हो ।
शाहले विगत पाँच दशकदेखि निरन्तर आधुनिक गीतदेखि सिने क्षेत्रमा समेत योगदान पुर्याइरहनुभएको छ । उद्यमी व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वन : श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेको हो ।

साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले शाहलाई पुरस्कार समर्पण गर्नुभएको थियो । यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान, राजेन्द्र थापा सम्मानित भैइसकेका छन् ।















