Sur Cinema

‘मौन’को फस्टलुक

काठमाडौं : रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस सिनेमालाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने तयारी गरिएको छ । शनिबार सार्वजनिक पोस्टरमा सिनेमाकी मुख्य पात्र प्रार्थना पाठकलाई फिचर्ड गरिएको छ ।

चर्चित कलाकारहरू सरोज खनाल र हिउँवाला गौतम लगायतलाई भने लुकाइएको छ । पोस्टरसँगै सिनेमाका मुख्य टिम सदस्यहरू पनि सार्वजनिक गरिएका छन्। सिनेमाका निर्देशक तथा निर्माता रामजी ज्ञवालीले आफ्नो अफिसियल फेसवुक पेजमार्फत भनेका छन्,– ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट मात्र होइन, न त हलमा दर्शक तान्न अनावश्यक भ्रम छर्ने कुनै योजना । यो एउटा वास्तविक जीवनसँग जोडिएको कथा हो, जसले समाजलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।’

सिनेमाको कथा चर्चित निर्देशक रामशरण पाठकले लेखेका हुन्। सिनेमाटोग्राफी शंकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा पोस्टर फोटोसुट कुवेर डंगोलको रहेको छ भने पोस्टर टौवा स्टुडियोमा निर्माण भएको हो । यस प्रोजेक्टमा बरिष्ठ कलाकार सरोज खनाल, हिउँवाला गौतम, नव कलाकारहरु प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट, दिवस नाथ लगायतका कलाकार रहेको जनाइएको छ । सिनेमाका सहायक निर्माता हरी क्षेत्री भुपेन्द्र हुन्। सिनेमाको प्राविधिक पक्षमा भरत कंडेलले साउण्ड डिजाइनिङ, राजेन्द्र मोक्तानले कलर ग्रेडिङ र नहकुल खड्काले सम्पादनको जिम्मेवारी सम्हालिरहेका छन् ।

सिनेमाको आधिकारिक कथा नखुलाइए पनि निर्देशक ज्ञवालीका अनुसार, ‘मौन’ १ सय  ६८ मिलियनभन्दा बढी व्यक्तिहरूको यथार्थ कथामा आधारित छ। यस डकुड्रामालाई नेपालका विभिन्न स्कुल, कलेज तथा संघसंस्थाहरूमा विशेष शोमार्फत प्रदर्शन गरिने बताइएको छ । सिनेमा चाँडै दर्शकमाझ आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।