Sur Cinema

‘जनै हराएको बाहुन’ बन्दै विजय

काठमाडौं : नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको सिनेमा ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस सिनेमामा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाएको छ ।

हालै मात्र नेपालमा ५० करोड माथीको व्यापार गरेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता समेत रहेका बरालले जनै हराएको बाहुन’ सिनेमाको लागि लेखिएको स्क्रिप्ट मन परेर सिनेमामा जोडिएको प्रतिक्रिया दिए । सिनेमाको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

यो सिनेमाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ ।

सिनेमाका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी  र  निशान्त श्रेष्ठ रहेका छन् । यस सिनेमामा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् भने एसोसियट निर्देशक ‘प्रेम गीत – ३’का कलाकार मनिस राउत हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।