काठमाडौं : सिनेमा ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले सिनेमाका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । पोस्टरमा सिनेमाका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ ।
विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअपको चर्चा हुने अनुमान छ । नेताको भूमिकामा रहेका कट्टेललाई दौरा-सुरुवाल र ज्वारीकोटमा देखाइएको छ । उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ । उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ । साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले सिनेमाको गहिरो कथावस्तु झल्काएको छ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको सिनेमा हो । यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमाको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । यसका अन्य प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् । सिनेमा फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ ।















