Sur Cinema

‘छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’मा ४७ देशका ९८ सिनेमाहरू प्रदर्शन हुने

काठमाडौं : विश्वभरिका सांस्कृतिक सिनेमाको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ । महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी सिनेमाको आवेदन परेको र मध्येबाट नेपाल सहित ४७ देशका ९८ वटा सिनेमाहरुहरू महोत्सवमा चयन गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

“हामीलाई प्राप्त करिब ४०० वटा सिनेमालाई प्रारम्भिक सिनेमा चयन समूहले करिब डेढ महिना लगाएर हेरेपछि ९८ वटा सिनेमाहरू चयन गरेको छ । महोत्सवमा लघु सिनेमासँगै कथानक सिनेमा, वृत्तचित्र, एनिमेटेड सिनेमालगायत महिला, बालबालिका, मानव अधिकारका सिनेमाहरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् । दुई मिनेटदेखि साढे दुई घण्टासम्मको सिनेमा महोत्सवको लागि चयन भएको छ,” महोत्सव आयोजक संस्था नेपाल सिनेमा तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताए ।

महोत्सवको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट सिने निर्देशक निपोन धौला, जर्मनी सिनेकर्मी फाविन मात्थियस र सिनेकर्मी इभिन बिराजी, बेलायतबाट सिनेमा लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट सिनेमा निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट सिनेमा निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट सिनेमाकर्मी इरिना बेराजी रहेका छन् ।

नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, सिनेमा निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदिप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, सिनेमा निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।

महोत्सवमा दक्षिण एसियाली मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका सिनेमाहरू चयन भएका छन् । यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका सिनेमा यो महोत्सवमा चयन भएका छन् यस्तै  मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका सिनेमा पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ । 

महोत्सवमा सिनेमा प्रदर्शनसँगै सिनेमाको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ । सिनेमाको उद्घाटन समारोह काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा राईजिङ मल सिनेमा घरमा आयोजना गरिनेछ । उद्घाटन पछि सोही सिनेमा घरमा दुई दिनसम्म नियमित रूपमा सिनेमा प्रदर्शनीका साथै सिनेमाका विविध विषयमा छलफल एवम् अन्तरक्रिया गरिनेछ । त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म सिनेमा प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ ।

महोत्सवमा चयन भएका सिनेमाहरूले उत्कृष्ट सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार लगायत उत्कृष्ट लघु सिनेमा, वृत्तचित्र, एनिमेटेड सिनेमा, महिला सिनेमा, बालबालिका सिनेमा, मानव अधिकारका सिनेमा जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका सिनेमा तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न फरक फरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० सिनेमाहरूलाई पुरस्कृत गरिनेछ । साथै सिनेमा क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिनेछ ।