Sur Cinema

उत्कृष्ट प्रतिक्रिया सहित ट्रेन्डिङको शिर्ष स्थान पछ्याउँदै ‘एक्टरः टेक वन’ ट्रेलर

काठमाडौं : सिनेमा ‘एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको मुभी सेक्सनको दुई नम्बरमा पुगेको छ । यो सिनेमाको ट्रेलर गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी सार्वजनिक गरिएको थियो ।

सार्वजनिक भएको दुई दिनमा यो सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको दुई नम्बरमा पुगेको हो । यो समाचार तयार पार्दासम्म दर्शकको मन जित्दै यो ट्रेलर १७ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ । रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ ।

राजन भुसालद्वारा निर्देशित यस सिनेमाको ट्रेलरले प्रदीप खड्काको चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ । यसमा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला जस्ता कलाकारहरूको अभिनयले सिनेमालाई थप आकर्षक बनाएको छ ।

सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस सिनेमामा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

सिनेमाको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस सिनेमामा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।