Sur Cinema

ऋषिको ‘माग्ने राजा’मा आर्यनको प्रवेश

काठमाडौं :  फागुनको पहिलो साता देखि फ्लोरमा जान लागेको सिनेमा ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ । निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार सिनेमाको सवै भन्दा महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो ।

पछिल्लो समय लगालग ठूला–ठूला सिनेमामा देखिन थालेका आर्यनले ‘महाभोज’को छायाँकन सकेलगत्तै ‘माग्ने राजा’को सेट जोइन गर्ने गरी सहमति दिएका हुन् ।

सामिप्य राज तिमिल्सनाको पटकथा सम्बादमा रहने सिनेमामा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिका मा देखिनेछन् । यि बाहेक अभिनेत्रीमा वर्षा शिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भईसकेका छन् । सिनेमाको छायाँकन नरेन्द्र मैनालीले गर्दैछन् भने संगीत दीपक शर्माले तयार गर्दैछन् ।

करिब ३ करोडको लागतमा निर्माण हुन लागेको यो सिनेमालाई कलाकार समेत रहेका निर्माता एवं हाल दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षका रुपमा समेत चिनिएका मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् ।