काठमाडौं : नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रा.लि.ले सिनेमा ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ । यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन् । यो सिनेमाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।
निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार, यो सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । लामो समयदेखि नेपाली सिने क्षेत्रमा सक्रिय रहेका निर्देशक हिमाल न्यौपानेले यो सिनेमा आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए । उनले यसअघि केही वृत्तचित्र र लघु सिनेमा निर्देशन गरिसकेका छन् ।
‘जनै हराएको बाहुन’ भने उनको पहिलो व्यावसायिक सिनेमा हो । सिनेमाका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो सिनेमा २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।















