काठमाडौं : निर्देशक प्रशान्त तामाङको सिनेमा ‘सारंग’को गीत ‘तिमी नै हौ’ सार्वजनिक भएको छ । गीतमा बाल कलाकार आदित्य कार्की र सम्राट थापाको अब्बल प्रस्तुति देख्न सकिन्छ । यी दुईको मित्रतालाई गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा ऋचा शर्मा उत्पल झा लगायतलाई समेत देख्न सकिन्छ ।
हजुरबाले दिनुभएको बाँसुरी साथीलाई दिएपछि गीत सुरु भएको छ । गीतमा बाल कलाकारको राम्रो अभिनय छ । सुमन सिंगलेले लेखेको गीतमा देवेन्द्र बरालको स्वर छ । शङ्कर थापा स्माईलको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन रहेको छ । सिनेमा आउँदो माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने छ ।
कोरियोग्राफरको रूपमा परिचित निर्देशक तामाङ स्वयम् को लेखन रहेको सिनेमामा सम्राट, आदित्य, उत्पल र ऋचासँगै, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जङ्ग केसी, प्रभात श्रेष्ठ लगायतको अभिनय रहेको छ। निर्देशक तामाङले सिनेमामा बाल मनोविज्ञान, बाल अधिकार, धनी र गरिब परिवार बिचको खाडलको यथार्थ कथा देखाएको बताएका छन् ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको सिनेमाको गीतमा शङ्कर थापा ‘स्माइल’ र नकुल कार्कीको सङ्गीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको छ । सिनेमाको डिओपी गोपाल राय हुन् । मित्र डी गुरुङले सम्पादन गरेको सिनेमा स्टेसन ५ ले वितरण गर्दै छ ।















