Sur Cinema

वाह ! विजय

काठमाडौं : मानिसले धरातल बिर्सिन हुन्न, धेरैले भन्छन् । तर, ब्यवहारमा कस्ले उतार्छ ? सबैले त पक्कै सक्दैनन । अझ देखाउने क्षेत्रको रुपमा स्थापित सिनेजगतको त के कुरा गर्नु र खै ! अलिकती मात्रै सफलताले पनि मानिस पुरै बदलिन्छ, धरातल बिर्सिन्छ र हावामा उड्न थाल्छ ।

यो भिडमा भिन्न देखिएका छन् कलाकार विजय बराल । विजय क्यारिकेचरमा रुचि राख्थे । पढ्न भनेर घर छोडे पनि उनको वास्तविक नियत हास्यकलाकार बन्ने रहेको उनले धेरै पटक बोलेका छन् । तर, समयले उनलाइ “अभिनेता”को रुपमा स्थापित गर्यो ।

घरपरिवारको सपना पूरा गर्न बैंकमा जागिर खान नेपाल कमर्स क्याम्पस भर्ना भएका थिए विजय । तर कहिलेकाही धाईने मण्डला नाटकघर नै अन्तत उनको सपना र वास्तविकता बन्न पुग्यो । हेर्न जाँदा रस भिजेको भए पनि विजय अहिले मण्डलाको अभिन्न अङ्गको रुपमा स्थापित भैसकेका छन् ।

“बिके” चरित्रले उनलाई राम्रा सहायक कलाकार रुपमा स्थापित गर्यो । तर करिव डेढ दशक उनी त्यही सहायक भुमिका मै अड्किए । अभिनयमा खोट लाउने ठाउँ नभए पनि अब निर्माताले नपत्याए सम्म “हिरो” आफै त कसरी बन्ने र हैन ? तर उनको मेहनतले फल पाएको छ । उनी सिनेमामा “हिरो” बन्न मात्रै पाएनन् । दर्शकको मनमा “हिरा” अनि हिरो बनेर स्थापित भए “पुर्ण बहादुरको सारङ्गी” मार्फत ।

तर, विजयले माटोमा टेक्न बिर्सेका छैनन् । उनलाई आकाशमा जतिनै उडे पनि फर्कीने त घर नै हो भन्ने सत्यता सायद मज्जाले थाहा छ । यता ‘सारङ्गी’को चर्चा चुलिएको अवस्था थियो उता विजय आफ्नो धरातल “मण्डला”मा नाटकको तयारीमा ब्यस्त थिए । ठूलो क्षेत्र र धेरै दर्शक समेटेको सिनेमामा सफलता पाउँदै गर्दा अझ भन्दा ईतिहास रच्दै गर्दा उनी भन्ने गुमनाम जस्तै रहेर “हरी हजुरबा” को रिहर्सलमा डुबेका थिए ।

विजयले गर्ने नै हो भने उनले हाल सम्म एक दर्जन बढी सिनेमा साईन गरिसक्थे । तर उनलाई सफलताको “मात” लागेको देखिदैन । उता सिनेमा सफल हुँदै गर्दा आफू नाटकमा ब्यस्त देखिए । यता सिनेकर्मी उनको नाम भजाएर सिनेमा बिकाउन लागि परेका छन् । टिममा परेको नाम सम्म लिन नपरे हुने झै गर्ने सिनेकर्मी अहिले भने “विजय बराल अभिनित” भन्दै चर्चाका लागि रोईलो गरिरहेका छन् । कोही उनले पारिश्रमिक बढाएको भन्दै कुरा काटिरहेका छन् । तर, विजय चुपचाप आफ्नो कर्ममा लागि रहेका छन् ।

आशा गरौ आगामी प्रोजेक्टमा पनि विजयले आफ्नो कामलाई पहिला झै गरि न्याय गर्ने छन् । बाँकी ब्यवसायिक सफलता त दर्शकको हातको कुरा रह्यो । तर, चर्चालाई भजाएर एक दुई दर्जन सिनेमा कब्जा गर्न खोज्ने सिनेकर्मीले भने विजयबाट केही त सिक्नै पर्छ । अहिले त हामी बस, वाह विजय भन्न सक्छौ र उनको सालिनताको प्रसंसा गर्छौ ।