काठमाडौं : प्रकाश सपूतको निर्देशनमा तयार भएको सिनेमा ‘वसन्त’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उहाँ स्वयं फिचर्ड हुनुहुन्छ । पोस्टरमा देखिएको प्रकाशको पात्र अध्ययनशील देखिएको छ । भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् ।
‘वसन्त’मा सपूतको निर्माण, निर्देशन, लेखन, अभिनय, गायन र संगीत छ । यो सिनेमाले चैत २२ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको छ । सपूत भन्छन् , ‘वसन्त’ निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाए । यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको उनको भनाइ छ ।
गायक तथा अभिनेता प्रकाश सपूतको यो डेब्यु निर्देशकिय सिनेमा हो । सिनेमाको बाग्लुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको छ । सिनेमामा सपूतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ ।
सोसल ड्रामामा तयार भएको सिनेमाका कथा, पटकथा पनि सपूत स्वयंले नै तयार पारेका हुन् । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।















