Sur Cinema

सिनेमा ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर

काठमाडौं : नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली सिनेमा ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस सिनेमाको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रह्यो ।

ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस सिनेमाको प्रिमियर शो आयोजना गरेको थियो । सो प्रिमियरमा सिनेमा निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र सिनेमाका टिममा रहेका सदस्यलाई सम्मान गरिएको थियो । अन्य सिनेमाको छायाङ्कनमा व्यस्त रहेका कारण प्रमुख अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिएनन् । अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको प्रिमियरमा उपस्थिति रह्यो ।

‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ । सिनेमाले सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा प्रस्तुत गरेको छ । सिनेमाका मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनले सिनेमालाई प्रभावकारी बनाएको प्रिमियरमा सिनेमा हेरेका दर्शकले बताए । यसको कथावस्तु बलियो मात्र नभएर संवादहरू आकर्षक, मार्मिक र जीवन्त रहेको कारण सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दर्शकले दिए ।

कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयसँगै सिनेमाको प्राविधिक पक्ष पनि विशेष प्रशंसा पाएको छ । दार्जिलिङका सुन्दर दृश्यहरूलाई खिचिएको सिनेमाटोग्राफी अत्यन्तै मनमोहक रहेको र पार्श्व सङ्गीतले सिनेमालाई थप सुन्दर बनाएको प्रतिक्रिया प्राप्त छ ।