Sur Cinema

‘अञ्जिला’ टिमले गर्यो एञ्जिलालाई बिदाई

काठमाडौं : सिनेमा ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि सिनेमा टिमले बिदाइ गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४-२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मानसहित बिदाइ गरिएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, र फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।

पत्रकार सम्मेलनमा चलचित्रको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा आयोजना गरिने जानकारी गराइयो । निर्देशक मिलन चाम्स र एञ्जिला सुब्बा प्रिमियरमा सहभागी हुनेछन् । हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट भइसकेको उल्लेख गर्दै निर्देशक चाम्सले दर्शकहरूको चासो र उत्साहप्रति आभार व्यक्त गरे । “हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट हुनु, यो सिनेमाप्रतिको उत्साहलाई देखाउँछ । ‘अञ्जिला’ले नेपाली सिनेमा र खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ,” चाम्सले भने ।

हङकङ पछि सिनेमाको प्रिमियर जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा गरिनेछ । फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर सिनेमा एकसाथ प्रदर्शन गरिने समारोहमा बताइयो ।

सिनेमा ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । यसमा एञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।