काठमाडौं : सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिबार देशभरका अधिकांस शोहरु हाउसफूल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमाले १६औँ दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने सिनेमा बनेको छ ।
सिनेमाले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमा समेत बन्न सफल भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने सिनेमाको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो सिनेमाको कब्जामा छ ।
यस्तै, सिनेमाले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली सिनेमाको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । साथै सिनेमा ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने सिनेमा बनेको छ ।
नेपालभर सिनेमा हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । कलाकारहरु सिनेमाको प्रचारका लागि नभएर मुख्य शहरहरूका विभिन्न हलमा पुगेर सिनेमालाई मन पराइदिएको र सपोर्ट गरिदिएकोमा धन्यावाद दिन मोफसलका हल-हल पुगिरहेका छन् ।
यही भ्रमणका क्रममा निर्माण कम्पनी सेभेन सिस सिनेमाले ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको दिएको देखेपछि मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शनमा नआउने निर्माणपक्षले निर्णय गरेको छ ।















