काठमाडौं : बोक्सीको अन्धविश्वास विरुद्ध निर्माण गरिएको सिनेमा ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको रचना रहेको छ ।
धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्य लगायत रहेका छन् । विवाहको सेटअपमा तयार पारिएको ‘दाइ दाइ नभन’ रत्यौली खेल्दै गाइने झ्याउरे पाराको गीत रहेको छ । भिडियोमा पश्चिमाञ्चल क्षेत्र वरपर प्रचलनमा रहेको यस रत्यौलीमा छोरी मान्छे लोग्ने मान्छे बनेर नाच्ने प्रचलन देख्न पाइन्छ। जसलाई ‘लुठो’ बन्ने भन्ने गरिन्छ। भिडियोमा रमा त्रिपाठी लूठो बनेकी छन् ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक यो सिनेमा आगामी मंसिर ७ गते रिलिज हुँदैछ । यस सिनेमालाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
घनश्याम लामिछानेको निर्देशन रहेको सिनेमाको मुख्य भूमिकामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।
सिनेमामा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।















