काठमाडौं : शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ‘कति रमाइलो’ भन्ने बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत अमेरिकामा खिचिएको हो ।
सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले श्रृंखलाबद्ध रुपमा प्रचार सामाग्रीहरु पोस्टर तथा गीतहरु सार्वजनिक गरिरहेको छ । सिनेमाको यसअघि केही पोस्टर तथा २ गीतहरु समेत सार्वजनिक गरिसकेका छन् ।
अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ ।
शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर प्रस्तुत छन् । उनीहरुसँगै सिनेमाका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा फिचर्ड छन् । सिनेमाको सार्वजनिक गीतले दर्शकमाझ उत्सुकता पैदा गर्ने देखिन्छ ।
‘तेल भिसा’को छायांकन पश्चात नाटक खेल्न अमेरिका पुगेकी अभिनेत्री वर्षा राउत पनि सिनेमाको गीत रिलिज कार्यक्रममा उपस्थित थिइन् । उनी अमेरिकामा मञ्चन भैरहेको नाटकको कामलाई केही समयलाई स्थगित गर्दै यो सिनेमाको प्रचार र दशैं तिहार मनाउन नेपाल फर्केकी हुन् ।
आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमामा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । यो सिनेमामा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिका निभाएका छन् । उनी यतिवेला उनको स्वीटर सिनेमाको छायांकनको लागि पाँचथरमा रहेकाले यो सिनेमाको गीत रिलिज कार्यक्रममा उपस्थित थिएनन् ।
वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । सिनेमाको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । सिनेमामा सुशन प्रजापतिको छायांकन छ ।















