काठमाडौं : निर्देशक वसन्त निरौला भोलि फूलपातीको दिनबाट सिनेमा ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदै छन् । सिनेमा ‘विजयपथ’बाट निर्देशनमा पाइला चालेका वसन्तले ‘ज्वाइँ साब’ सम्म आइपुग्दा एक्सन, प्रेमकथा र राजनीतिकसँग जोडिएको सिनेमा समेत निर्देशन गरे ।
‘पहिला मलाई एक्सन सिनेमा मन पर्थ्यो । मैले जुन समयमा सिनेमा निर्देशनमा डेब्यू गरें, त्यो समयमा एक्सनकै नेपाली सिनेमाहरु चलिरहेका थिए । त्यो समयमा निखिल उप्रेतीहरुको एक्सन सिनेमा चल्थ्यो । अहिले पनि चल्छ । त्यो बेला फरक समय थियो’, वसन्त भन्छन्, ‘अहिले चाहिँ कमेडीमा फरक केही गरौं कि भन्ने सोचिरहेको थिएँ । हामीले झण्डै डेढ वर्षको योजना पछि यो सिनेमा तयार पारेका हौं ।’

वसन्तले सिनेमाका लेखक सबिन अधिकारीले आफूलाई ‘ज्वाइँ साब’को कन्सेप्ट सुनाएपछि काम गर्न सहमत भएको खुलाए । ‘लेखिरहने मान्छेसँग धेरै कन्सेप्ट हुन्छ । अरु कन्सेप्ट पनि आएको थियो । ज्वाइँ साबको कन्सेप्ट आएपछि मलाई यो सिनेमा गर्न पाए जस्तो लाग्यो । ज्वाइँ साब मा कथा सामान्य छ, हामीले समाजमा देखिरहेको कथा नै हो’, उनी भन्छन् ।
उनले सिनेमाको स्क्रिप्टमा काम गरिरहँदा जितु नेपाल भन्दा पनि हाम्रो विषयलाई न्याय गर्न सक्ने एकजना कमेडी कलाकार खोजेको बताए । उनले स्क्रिप्ट फाइनल भइसकेपछि मात्र जितु नेपाललाई भेटेर कथा सुनाएको र उनी सहमत भएपछि मात्र अन्य कलाकार चयनको काम अगाडि बढेको खुलाए ।
वसन्तले सिनेमाको कथाले दर्शक ‘कनेक्ट’ गर्नेमा आफूमा ढुक्क रहेको दाबी गरे । ‘विवाह गर्दा बेहुलीलाई घरमा भित्र्याउन चलन छ । हामीले सिनेमामा बेहुलीको स्थानमा बेहुलालाई भित्र्याएका छौं । केटा मान्छे विवाह गरेर अर्काको घरमा भित्रदा के हुन्छ भनेर परिकल्पना गरेका हौं । ‘ज्वाइँ साब’ महिला प्रधान सिनेमा हो । त्यसकारण पनि सिनेमा दर्शकमाझ प्रिय हुन्छ भन्नेमा ढुक्का छौं’, उनले भने ।
उनले ‘ज्वाइँ साब’ पूर्णतया कमेडी मात्र नभई ‘इमोसनल’ सिनेमा पनि भएको बताए । ‘सिनेमामा एक समयसम्म कमेडी नै लगेका छौं । कमेडीसँगै इमोसन पनि छ । ‘ज्वाइँ साब’मा जितु नेपालले निर्वाह गरेको गोबद्र्धन पण्डित पात्रमा बसेर जुनसुकै लिंगका दर्शकले हेर्यो भने त्यो सिनेमा हरेक मान्छेलाई कनेक्ट गर्छ । दर्शकले मिठो विषयमा सामान्य कथा, गाउँघरको र समाजको कथा हेर्न पाउनुहुनेछ’, उनले भने ।
सिनेमामा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।















