Sur Cinema

सिनेमा ‘बेहुली फ्रम मेघौली’को ३ दिनको कमाई सार्वजनिक

काठमाडौं : गत बिहिबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बेहुली फ्रम मेघौली’को ३ दिनको कमाई सार्वजनिक गरिएको छ । सिनेमाका अभिनेत्री तथा निर्मात्री समेत रहेका स्वस्तिमा खड्काले ३ दिनमा सिनेमाले २ करोड २५ लाख कलेक्सन भएको सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् ।

सिनेमाले सुरुवाती दिन अर्थात पहिलो दिन ८० लाखको ओपनिङ गरेको सिनेमाका वितरक अशोक शर्माले जानकारी दिएका थिए । त्यसपछि शुक्रबार र शनिबारको व्यापार वृद्धि भएको देखिन्छ । वितरक कम्पनीका अनुसार शनिबार सिनेमाले १ करोडभन्दा बढी कलेक्सन गरेको छ ।

नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई रमाईलो ढङ्गले प्रस्तुत गरिएको यस सिनेमामा स्वस्तिमाका अलवा निश्चल बस्नेत, वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतले अभिनय गरेका छन् ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्‌को ब्यानरमा निर्माण भएको यस सिनेमालाई सजन काफ्ले र आकाश बरालले लेखेका हुन भने निर्देशन पनि उनीहरु कै रहेको छ । यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो । यस सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।