काठमाडौं : सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्ने भएको छ । सिनेमाको निर्माण टिमले ‘मेरो बाको संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियो बनाएर पठाउनु पर्ने छ। सहभागीहरुले आफुले बनाएको भिडियो आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।
सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियो बनाई purnabahadurkosarangi@gmail.com मा पठाउनुपर्नेछ। साथै, सहभागीहरुले भिडियो सामाजिक संजालमा पोस्ट गर्दा अनिवार्य रुपमा #PURNABAHADURKOSARANGI, #KARTIK15, #7SEASCINEMA, #MEROBAKOSANGARSHA, #VIDEOCOMPETITION साथै fb.com/7seascinema अथवा fb.com/7seasentertainment लाई ट्याग गर्नुपर्नेछ।

सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नु पर्ने छ । प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ।
विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने सिनेमा निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले सिनेमाको २/२ वटा टिकट फ्री पाउने छन् । सहभागीहरुले भिडियो कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नु पर्नेछ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमा कात्तिक १५ गते रिलिज हुँदैछ । सिनेमामा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ ।















