Sur Cinema

गीतमा सहकार्य फापेका निश्चल स्वस्तिमाको सिनेमा के होला !

काठमाडौं : सिनेमा “बेहुली फ्रम मेघौली” प्रदर्शनको तयारीमा छ । असोज १७ गतेबाट रिलिज हुने सिनेमाको गीत ‘छड्के सलाम’ सामाजिक सन्जालमा लोकप्रिय छ । रियल जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेतको नृत्य रहेको गीतले सिनेमाको ब्यापारमा पनि सकारात्मक प्रभाव पार्ने धेरैको आकलन छ ।

त्यसो त निश्चल र स्वस्तिमाको नृत्यलाई दर्शकले पहिला बाट नै मन पराएका हुन् । दुई रुपैयाँ सिनेमाको ‘कुटुमा कुटु’ गीत देखि यी दुईको हरेक जसो सहकार्य रहेको गीत सफल रहेको देख्न सकिन्छ । सिनेमा भलै सफल भएन र स्वस्तिमा एक गीतमा मात्र प्रस्तुत भए पनि नेपाली गीत संगीतको क्षेत्रमा यो गीत कोशेढुगां सावित भएको गीत हो भन्दा फरक पर्दैन् । हाल सम्म गीत २ सय १२ मिलियन भन्दा बढी भ्युज गैसकेको छ ।

अर्को असफल सिनेमा ‘घामड सेरे’मा पनि निश्चल स्वस्तिमा नाचेको एक सफल गीत रहेको छ । १ सय ३५ मिलियन भन्दा बढी पटक हेरिएको ‘साली मनपर्यो’ गीत अहिले पनि हरेक जसो नेपाली चाड पर्वमा बझेकै देखिन्छ । निश्चल र स्वस्तिमाको गीतका नृत्यलाई दर्शकले खास रुपमा हेरेको देख्न सकिन्छ ।

सिनेमाको गीत नभए पनि यी दुईको अभिनय रहेको नाच फिरिरी, तातो गोली, चट्ट रुमाल गीत समेत यी दुईका सफल गीत अन्तर्गत पर्छन् । छानेर मात्रै म्युजिक भिडियोमा काम गर्ने यी दुईले गरेका प्राय जसो गीत हिट नै छन् ।

सिनेमा “बेहुली फ्रम मेघौली” सम्म आईपुग्दा यी दुईले सिनेमामा एकसाथ लगानी समेत गरेका छन् । एक अर्काको पारिश्रमिक सम्म थाहा नहुने यो जोडीले यो सिनेमामा भने बराबरी जस्तै लगानी गरेको देखिन्छ । उक्त लगानी आर्थिक मात्र नभएर सिनेमा अब्बल बनाउन अभिनय र निर्देशनको पाटोमा समेत गरेको लगानी हो । सिनेमाको प्रचार सामाग्रीले दर्शकमा छोडेको छाप पनि लोभलाग्दो छ । सिनेमाको विषय बस्तुको कारण पनि आशा गर्ने ठाउँ धेरै छ ।

विगत नियाल्ने हो भने यी दुईको सहकार्यका गीत त चलेका छन् तर सिनेमा भने खासै दमदार चलेको देखिदैन । यस्तोमा दशैं छेकोपारी रिलिज हुने यो सिनेमाले भने भब्य व्यापार गर्न सकोस भन्ने शुभकामना ।